BankingBrandingBusiness NewsCorporateheadlineShare Market

छानबिन नटुङ्गिदै पुनः खुलाइयो घोराही सिमेन्टको आइपिओ

काठमाडौं । फर्जी आवेदन परेपछि अनुसन्धानका लागि भन्दै रोकिएको घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) पुनःखुलेको छ ।

आइतबारसम्म आवेदन दिन सकिनेगरी आइपिओ पुनःखुलाइएको हो ।

हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संयुक्त निष्कासन तथा बिक्री प्रबन्धकत्वमा गत जेठ ३२ गतेदेखि यो कम्पनीको आइपिओ खुलेको थियो । तर उक्त कम्पनीले विद्यमान कानुन विपरित क्रेटिङ रेटिङ गरेको र फर्जी आइपिओ परेको शङ्का लागेपछि अनुसन्धानका लागि भन्दै नेपाल धितोपत्र बोर्डले असार ४ गते आइपिओ निष्काशन प्रक्रिया रोकेको थियो ।

अनुसन्धान नटुङ्गिदै बोर्डले फेरि आइपिओ निष्कासनका लागि अनुमति दिएको हो ।

“धितोपत्र बोर्डको निर्देशानुसार शेयर खरिदका लागि आवेदन दिइसकेका आवेदकले सो आवेदनमा शेयर सङ्ख्या थपघट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा २०८० असार २२ गते शुक्रबारदेखि असार २४ गते आइतबार बैंकिङ समयभित्र आफ्नो सी–आस्वा सदस्य, बैंक तथा वित्तीय संस्थामा गई लिखित निवेदन दिन सकिनेछ र शेयर खरिदका लागिसमेत निवेदन दिन सकिनेछ”, निष्काशन तथा बिक्री प्रधन्धक कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

धितोपत्र बोर्डले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार घोराही सिमेन्टको आइपिओमा परेको फर्जी आवेदन र शङ्कास्पद क्रेडिट रेटिङको अनुसन्धान टुङ्गिसकेको छैन । आइपिओमा फर्जी आवेदन परेको विषयमा प्रारम्भिक अध्ययन सकिएको उल्लेख गरे पनि बोर्डले क्रेडिट रेटिङबारे कुनै कुरा खुलाएको छैन ।

मागभन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन परेको अवस्थासमेतमा निष्काशन तथा बिक्री प्रबन्धकले समयावधि थप गर्न सूचना प्रकाशित गरेको विषयमा पनि थप छानबिन गरिने बोर्डले जनाएको छ ।

आइपीओमा आवेदन भर्नका लागि असार ४ गतेसम्मको समयसीमा तोकिएकोमा घोराही सिमेन्टले त्यसलाई बढाएर असार १४ गतेसम्म पुर्याएको थियो । मागभन्दा बढी आवेदन भैसकेको अवस्थामा पनि आवेदनको भर्ने सीमा बढाएको बारे बोर्डले प्रश्न उठाएको थियो ।

त्यस्तै, धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपिओ प्रक्रिया रोक्नुका पछाडि उक्त कम्पनीको क्रेडिट रेटिङ शङ्कास्पद देखिएको उल्लेख गरेको थियो । तर क्रेडिट रेटिङको अनुसन्धान बारे भने बोर्डले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button