
वार्षिक आन्तरिक ऋण निष्काशन तालिका संशोधन
काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिका संशोधन गरेको छ । बुधबार नयाँ तालिका सार्वजनिक गर्दै केन्द्रित बैंकले यो वर्ष सबै ऋणपत्र गरी कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने जनाएको हो ।
ऋण संकलनको विभिन्न माध्यहरुमध्ये ट्रेजरी बिलमार्फत आर्थिक वर्षमा ५५ अर्ब रुपैयाँ उठाइनेछ भने विकास ऋणपत्रमार्फत १ खर्ब ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र (५ वर्षे) मार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र (५ वर्षे) मार्फत १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने केन्द्रीय बैंकले जनाएको छ । कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणमध्ये १ खर्ब १० अर्ब रुपैयाँ पहिलो र दोस्रो त्रैमास (पुस मसान्त) भित्र उठाइसक्ने केन्द्रीय बैंकले जनाएको छ । यसअवधिमा ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ उठाईनेछ भने ५ वर्षेदेखि ८ वर्षे अवधिसम्मका विकास ऋणपत्रमार्फत ९५ अर्ब रुपैयाँ उठाइने बैंकले जनाएको छ । प्रस्तावित तालिका खुल्ला बजार सञ्चालन समितिले आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।