लक्की मिडिया हाउसले वरिष्ठ पत्रकार ढकाललाई सम्मान गर्ने
चितवन । लक्की मिडिया हाउस चितवनले वरिष्ठ पत्रकार नवराज ढकाललाई सम्मान गर्ने भएको छ । राजधानी आस्था साप्ताहिक पत्रिकाका प्रकाशक एवं प्रधानसम्पादक ढकाललाई मिडियाले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ मा पत्रकारिता विधातर्फ सम्मानीत गर्न लागिएको हो । मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनुभएका ढकाललाई सम्मान गर्न लागिएको जानकारी दिए । २०२३ सालमा काभ्रेमा जन्मिएर २०४७ मा चितवन झरेका ढकालले २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । तत्कालीन पारदर्शी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका ढकालले पारदर्शी दैनिक, लोकतन्त्र दैनिक, जनआस्था साप्ताहिक, जनदिशा दैनिकलगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् । विगत १५ वर्षदेखि राजधानी आस्था साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका ढकाल प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य एवं प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन विभागको उपाध्यक्ष हुन् ।
महाप्रबन्धक कार्कीका अनुसार अवार्ड तथा सम्मान कार्यक्रममा चितवनमा रहेर लामो समयदेखि काम गर्दै आएका व्यवसायी, चिकित्सक, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी सम्मान गरिँदै छ । सम्मानीत हुनेहरुको नाम क्रमशः सार्वजनिक गर्दै जाने कार्कीले बताए ।
‘चितवनमै पहिलो पटक यसप्रकारको फिल्मी अवार्ड आयोजना गर्दै छौँ,’ उहाँले भने, ‘अवार्डको प्रचारप्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रासमेत गरिँदै छ ।’ अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटोयात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिए । देशभरबाट विभिन्न विधाका दुई दर्जन कालाकारहरुलाई सम्मान गर्ने गरी असोजको अन्तिम साताभित्र अवार्ड कार्यक्रम आयोजना हुने कार्कीले जानकारी दिए । लक्की मिडिया हाउस चितवनले यही असोज महिनामा गर्ने अवार्डको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । कलाकारको योगदानको कदर गर्नेुपर्नेमा उनले जोड दिए ।
अवार्ड वितरणका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको उनले बताए । ०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।