विश्वकप फाइनल: अस्ट्रेलियाले जित्यो टस
काठमाडौं । एकदिवसीय विश्वकप २०२३ को सबैभन्दा ठूलो खेल अर्थात् फाइनलमा अस्ट्रेलियाले टस जितेको छ। अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै भारत केही समयमा पहिले ब्याटिङका लागि क्रिजमा उत्रिँदै छ।
उपाधि भिडन्तमा आयोजक भारत र पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलियाबीच हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो २स्१५ बजेबाट खेल सुरु हुँदैछ।
दुवै टोली एक अर्काविरुद्ध दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिड्दै छन्। उनीहरुबीच यसअघि २००३ को एकदिवसीय विश्वकपको फाइनलमा प्रतिस्पर्धा भएको थियो। जतिबेला अस्ट्रेलिया १ सय २५ रनले विजयी भएको थियो।
भारतीय टोली चौँथो पटक फाइनलमा खेल्न लागेको हो। यसअघि सन् १९८३, २००३ र २०११ मा भारतले विश्वकपको फाइनलमा स्थान बनाएको थियो। अर्कोतर्फ अस्ट्रेलिया भने आठौँ पटक विश्वकपको फाइनल खेल्दै छ। विश्वकपकै सर्वाधिक सफल टोली अस्ट्रेलियाले ७ मध्ये ५ फाइनल जितेको छ।
अस्ट्रेलिया विगत २७ वर्षदेखि विश्वकपको फाइनलमा हारेको छैन। टोलीले पछिल्लो २४ वर्षमा सबै ४ वटा फाइनल जितेको छ। फाइनलमा अस्ट्रेलिया अन्तिम पटक सन् १९९६ मा श्रीलंकासँग पराजित भएको थियो।