भारतीय बैंकसँग नेपाल बैंकको आयात निर्यात व्यापार सम्झौता
काठमाडौँ । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक इन्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ट्रेड असिस्टेन्स प्रोगाम अन्तर्गत सम्झौता गरेको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक भएको जनाइएको छ ।
नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम, अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।दुई संस्थाहरू बीच भएको हस्ताक्षर कार्यक्रममा बैैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले व्यापारिक सम्झौता गर्न पाउँदा खुसी लागेको बताइन् । ‘हामी एक्जिम बैंकसँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं र आगामि दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी बैंकसँगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरी कार्य गर्ने योजनामा छौँ’, उनको भनाइ थियो ।