एनसेल मुख्यालय अगाडि अनेरास्वियुकाे प्रदर्शन
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भ्रातृसंगठन अनेरास्ववियुले टेलिकम सेवा प्रदायक संस्था एनसेलकाे मुख्यालय अगाडि प्रदर्शन गरेको छ।अनेरास्ववियुले एनसेलको शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै प्रदर्शन गरेकाे हाे।प्रदर्शनमा सहभागीहरूले ‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’, ‘विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर’, ‘नीतिगत भ्रष्टाचार गर्न पाइँदैन’, ‘एनसेलकाे आयव्यव सार्वजनिक गर’, ‘एनसेललाई राष्ट्रियकरण गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका छन् ।प्रदर्शनमा सहभागीहरूले एनसेलकाे सिमकार्ड समेत जलाएका छन्। उनीहरूले मागहरू पूरा नभए एनसेलका गाडीहरू समेत चल्न नदिने जनाएका छन्।
८० प्रतिशत शेयर मलेसियाको आजियाटा कम्पनीले नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई बिक्री गरेको भन्दै एनसेलकाे चाैतर्फी विराेध भइरहेकाे छ।एनसेलको शेयर खरिद बिक्री अपत्यारिलो मूल्यमा भएपछि राज्यका निकायहरूमा तरंग पैदा भएको छ। अर्बौं पुँजीगत लाभकर छल्न र ६ वर्षपछि एनसेनलको स्वामित्व सरकारीकरण हुन रोक्नका लागि अपत्यारिलो खरिद बिक्री भएको दाबी जानकारहरूले गरिरहेका छन्।संसदको लेखा समितिले यस विषयमा चासो जनाउँदै विभिन्न निकायसँग जानकारी माग गरेको छ।