
काठमाडौं – आसार शुक्ल पक्षको हरिशयनी एकादशी । बिहिबार हिन्दुु धर्मालम्वीहरुको घरघरमा तुलसीको विरुवा रोपी चार महिनासम्म विशेष पूजा सुरु गरिन्छ ।
हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् बिष्णु र तुलसीको पूजा अर्चना गरिन्छ ।
एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको विरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस एकादशीमा नेपाल, भारत लगायतका मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीले व्रत राख्नुका साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।
पुराणका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ’देवशयनी’ तथा कार्तिक शुक्ल एकादशीलाई ’प्रबोधिनी’ एकादशी भनिन्छ ।
घर आँगनमा तुलसीको मोठमन्दिर राखी तुलसी रोपिन्छ त्यहाँ देवताको बास हुन्छ भन्ने धार्मिक बिश्वास छ ।
हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
हरिशयनी एकादशीका अवसरमा आज बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिरमा लगायक ,बिष्णु मन्दिरमा पुजा गर्ने दर्शनार्थी जाने गर्दछन ।