
अलैँचीको निर्यात ह्वात्तै बढ्यो, सात अर्ब ७० करोड आम्दानी
काठमाडौ । मुलुकबाट अधिकांश स्वदेशी वस्तुको कुल निर्यात घटिरहेका बेला अलैँचीको निर्यात भने ६९ प्रतिशतले बढेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामासम्म अलैँची निर्यात ६९ प्रतिशतले बढेर सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको ९३ लाख ८६ हजार ५६९ केजी निर्यात भएको छ ।
अघिल्लो वर्ष यो अवधिमा चार अर्ब ५५ करोड ६६ लाख पाँच हजार रुपियाँ बराबरको ५० लाख ५० हजार ५९३ केजी अलैँची निर्यात भएको थियो । गत वर्षको तुलनामा परिणाम र परिमाण दुवै वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
आव २०७८र७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको ५३ लाख ६७ हजार ४४३ केजी निर्यात भएको विभागको तथ्याङ्क छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ । स्वदेशी अलैँची विदेशी मुद्रा आर्जन गर्ने तुलनात्मक लाभ भएको कृषिजन्यवस्तुका रूपमा रहेको छ ।
नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैँची । जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ । वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु(याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ ।
नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची, जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात हुने गरेको पाइएको छ ।
नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने विज्ञहरूले औँल्याएका छन् । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अलैँची मसलाका रूपमा प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ ।