खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’
कास्की । रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ ।
विसं २०५२ मा स्थापना भएको रेवान पोखराको संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ थिए। नेतृत्व सम्हालेपछि उनले केही नयाँ काम गर्ने सोच बनारहेका थिए । स्थापनाकालको उपाध्यक्ष थिए, गणेशबहादुर भट्टराई ।
पचासको दशकतिर उनीहरुले भारतको गोवा भ्रमणका समयमा सडकमै ‘फेस्ट’ मनाएको देखेका थिए । त्यही देखासिकी गर्दै रेवान पोखराले सन् १९९८ को अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरी लेकसाइड क्षेत्रमा पोखरा सडक महोत्सव आयोजना ग¥यो । सो समयमा महोत्सवको संयोजक बन्नुभयो, तत्कालीन उपाध्यक्ष भट्टराई ।
त्यो बेला पोखरा लेकसाइड क्षेत्रमा विदेशी पर्यटकहरुको लर्को देखिन लागिसकेको थियो । सोही कारण पनि विदेशी पर्यटकलाई लक्षित गरी महोत्सव आयोजना गरिएको तत्कालीन संयोजक गुरुङले बताए। उनले भने, “त्यो बेला हामीले पोखरा आउने पर्यटकहरुलाई लक्षित गरी अङ्ग्रेजी नयाँ वर्ष मनाउँदै खाना, संस्कृति र उत्पादन जोगाउनका लागि महोत्सव गरिएको थियो ।”
नेपालमा भएका विभिन्न जातजातिबीच सामाजिक सद्भाव कायम गर्दै संस्कृति साटासाट गर्न पनि मेलाले सहयोग गरेको उनले बताए । “नेपालीमा भएको जातजातिबीच सामाजिक सद्भाव र संस्कृति साटासाट गर्न साथै उनीहरुले उत्पादन गरेका वस्तुहरु बजारीकरण गर्न महोत्सव गरिएको हो”, संस्थापक अध्यक्ष गुरुङले भने, “उनीहरुको खाना पनि सडकमा देखाउने अर्को उद्देश्य हो । खाना, संस्कृति र उत्पादनको त्रिकोणात्मक सम्बन्ध पनि महोत्सवमा देखिन्छ ।”
संस्थापक अध्यक्ष गुरुङले २५ वर्षअघि आफूहरुले सुरु गरेको सडक महोत्सव अहिलेसम्म निरन्तर चलिरहेकाले खुशी व्यक्त गरे । आगामी दिन अझै परिस्कृत रुपमा अघि बढाउन उनको सुझाव थियो ।
रजत जयन्तीसहितको २५औँ पोखरा सडक महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ नाराका साथ आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका थिए । महोत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने रेवान पोखराले जनाएको छ ।
कार्यक्रममा प्रमुख आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषण गर्ने क्रममा रहेको बताए । यसका लागि अध्ययन गर्न उच्चस्तरीय समिति बनाएर अघि बढेकाले एक महिनाभित्र पोखरालाई पर्यटनको राजधानी घोषण गर्ने उनको दाबी छ ।