BrandingBreakingBusiness NewsheadlinePoliticsTourism

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन् ।

होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले भने, “होटल आफैँले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका फार्मसँग सम्झौता गरी कृषिउपजलाई सिधै होटलका प्लेटमा पु¥याउने कार्यक्रम सञ्चालन गर्नुस् ।”

राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए । उनले भने, “सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु ।”

उनले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका काम भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले पर्यटनलाई आयआर्जन र समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । उनले भने, “नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्दछ । यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।”

राष्ट्रपति पौडेलले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न सकिनेमा विश्वास व्यक्त गरे । उनले पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातित ढङ्गले बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकलमार्ग, निःशुल्क इन्टरनेटलगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उल्लेख गरे ।

पर्यटन उद्योगको आधारस्तम्भको रुपमा रहेको होटल क्षेत्रलाई प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

कार्यक्रममा सङ्घका अध्यक्ष विनायक शाहले मुलुकको वार्षिक बजेटसरहको लगानी भएको होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन सरकारसमक्ष माग गरे । उनले भने, “एक जना पर्यटक आउँदा नौ जनाले रोजगारी पाउँछन् । एक तथ्याङ्क अनुसार मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको आठ प्रतिशत योगदान छ । विदेशी मुद्राको प्रमुख आयस्रोतमध्येको एक पर्यटनलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिनुपर्छ ।”

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा हवाईमार्ग भएर १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सरकारले आगामी वर्ष विदेशी पर्यटकको सङ्ख्या दोब्बर पु¥याउने घोषणा गरेको छ । सरकारको एकवर्षे कार्यकालको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्को वर्ष पर्यटकको सङ्ख्या दोब्बर बनाइने बताएका थिए । नेपालमा हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने क्षमता होटल छन् । सङ्घका अनुसार हाल पाँचतारे, पर्यटकस्तरका होटल, लज र सिसोर्ट गरी १० हजारभन्दा बढी सञ्चालनमा छन् ।

सङ्घका महासचिव साजन शाक्यले नेपाललाई कृषि प्रधानबाट पर्यटन प्रधान देशका रुपमा पहिचान स्थापिन गराउनुपर्नेमा जोड दिए ।

सो अवसरमा होटल क्षेत्रमा योगदान गर्ने सङ्घका पूर्वअध्यक्षहरु श्यामबहादुर पाण्डे, योगेन्द्र शाक्य, नरेन्द्र ताम्राकार, प्रकाश श्रेष्ठ, प्रसिद्धबहादुर पाण्डे र सिर्जना राणालाई सङ्घले राष्ट्रपति पौडेलले दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेका थिए ।

सोही अवसरमा राष्ट्रपति पौडेलले सङ्घले प्रकाशन गरेको ‘इयर बुक २०२४’ विमोचन गरेका छन् । कार्यक्रममा ‘सत्कार दिवस २०८०’ अनावरण तथा ‘नेपाली हेरिटेज फुड वेस्ट’ र ई–लर्निङ भिडियो पनि अनावरण गरिएको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button