BankingBrandingBreakingBusiness NewsPolitics

पर्यटकीय र उत्पादनको क्षेत्र, पूर्वाधार विकास सरकारको प्राथमिकता : अर्थमन्त्री डा. महत

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताउनु भएको छ । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्नुभयो, ‘बाराको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर माथि उठोस् भन्ने सरकारको चाहना हो ।

बाराका किसानका लागि पर्याप्त सिँचाइ छैन, सुनकोशी मरिन डाइर्भसनले सिँचाइमा थप मद्दत पुग्ने मन्त्री डा. महतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कृषिका कारणले मात्र बारा महत्वपूर्ण होइन, सिमरा औद्योगिक करिडोर पनि बारामै पर्छ । यहाँ धेरै उद्योग व्यवसाय स्थापित छ । अझै धेरै उद्योग व्यवसाय यस क्षेत्रमा आओस् भन्ने सरकारको चाहना हो । यसले स्थानीय जनताको रोजगारी र आवश्यकतालाई थप सहयोग पुग्छ ।’

‘तराईसँग काठमाडौं जोड्ने द्रुतमार्ग पनि निर्माण हुँदैछ । यो मार्ग छिटो सम्पन्न गर्नुपर्छ भनेर सरकारले खबरदारी गरिरहेको छ । यो मार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं–बाराको दूरी ४५ मिनेटमा झार्नेछ’ मन्त्री डा. महतले भन्नुभयो, ‘बाराबाट एकैदिनमा काठमाडौं पुग्ने र काम सकेर फर्किने वातावरण बन्दैछ । त्यत्ति मात्र होइन, अन्तर्राष्ट्रिय विमानस्थल पनि बारामै बन्दैछ, विविध कारणले यो ढिलाइ भएको छ । यसबारेमा भारतलगायत अन्य विभिन्न लगानीकर्तासँग कुराकानी भइरहेको छ ।’

‘द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल बारामा निर्माण भएपछि बाराको आर्थिक विकासले छर्लाङ मार्छ । यहाँका जनताको जीवनस्तर धेरै माथि उठ्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘भारतसँग निकासी र पैठारी गर्ने नाका भएन भन्ने बाराबासीको जुन गुनासो छ, यसलाई सम्बोधन गर्न मैले तीनवटा नाका निरीक्षण गरें, अध्ययन भइरहेको छ । नाका खोल्न हामीले मात्र ल्याउने र दिने भनेर हुँदैन, दुवै देशको सहमति र साझेदार चाहिन्छ । दुवैतिर पूर्वाधार हुनुपर्छ । एउटा ठूलै नाका बारामा होस् भन्ने सरकारको चाहना हो ।’

‘धैर्य गर्नुहोला, अध्ययनको आधार र भारतसँग छलफलपछि बारा एउटा नाका खुल्न सक्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘यसवर्ष सातै प्रदेशको धार्मिक स्थल र सांस्कृतिक केन्द्रको विकासका लागि बजेट राखिएको छ । बाराको गढीमाइलाई पनि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटकीय र उत्पादनको क्षेत्र, पूर्वाधार विकास सरकारको प्राथमिकताको क्षेत्र हो ।’

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button