BankingBrandingBreakingBusiness NewsCorporate

राष्ट्र बैंकले गर्‍यो ६ बैंकलाई कारबाही,सिईओलाई सचेत गराइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै चार वाणिज्य बैंक र शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै २ विकास बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैकले लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई नियामकीय व्यवस्था उल्लंघन गरेकोले कारवाही गरेको जनाएको छ । यस्तै लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज (साविकको लक्ष्मी बैंक) को संस्थापक शेयरधनी राजेन्द्रकुमार खेतानलाई १० लाख रुपैयाँ नगद जरिवाना गरेको छ । खेतानले बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रुपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रुपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको  राष्ट्र बैकले जनाएको छ ।

खेतानलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) बमोजिम जरिवाना गरेको हो । बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन नगरेकाले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई समेत सचेत गराएको छ ।

यस्तै कुमारी बैंक कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्थाअनुसार कायम नगरेपछि राष्ट्र बैंकले बैंकका सञ्चालक समिति र सीईओलाई सचेत गराएको छ । कुमारी बैंकलाई समेत राष्ट्र बैंकले कारवाही गरेको छ । तत्कालीन सीईओलाई तलबभत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । प्राइम बैंकका सीईओलाई उक्त ऐनको दफा १०० को उपदफा २ को खण्ड (क) अनुसार सञ्चालक समितिलाई सचेत गराएको हो । 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पनि नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै बैंकका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ । बैंकको कमलादी शाखाबाट खोलिएको प्रतीतपत्र (एलसी) बैंककै कालीमाटी शाखाले ‘कन्फर्म’ गरी सोही एलसीअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट ‘प्रमिसरी नोट’ जारी गरी ‘बेनिफिसियरी’ बाट बैंकले कुल ४१ करोड ३६ लाख बराबर ‘बिल पर्चेज’ गरी कर्जा सापटमा देखाएको राष्ट्र बैंकले जनाएको छ ।

लुम्बिनी विकास बैंकमा राष्ट्र बैंकको निर्देशनअनुसार वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र सोही निर्देशनमा उल्लेख भए बमोजिम शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्णरुपमा लागु हुन नसकेको पाइएको राष्ट्र बैंकले जनाएको छ । यस्तै एक्सल डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंकले जारी गरेको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button