एनसेलको शेयर बिक्रि प्रकरण : उच्चस्तरीय समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर बिक्रि प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
नेपालको नियामक निकायलाई थाहै नदिइ एनसेलबाट ८० प्रतिशत शेयर हिस्सा ओगटेको मलेसियन कम्पनी आक्जिएटाले आफ्नो शेयर बिक्री गरेपछि उत्पन्न विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन भएको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।
समितिलाई एक महिनाभित्र प्रतिवेदन दिनेगरी कार्यादेश दिइएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनअघि बोलाएको सत्ता गठबन्धनको बैठकले एनसेलले नेपालको कानूनमाथि जालसाझी गरेको निस्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको थियो । हिजोमात्र संसदको लेखा समितिले एनसेलको शेयर खरिद बिक्रि प्रक्रिया यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिँदै थप छानबिन गर्न निर्देशन दिएको थियो ।