काठमाडौँ । मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ ।
नेपाल हस्तकला महासङ्घको आयोजनामा अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको हो ।
मेलाको उद्घाटन राष्ट्रपतिबाट गर्ने कार्यक्रम रहेको छ । मेला अवलोकनका लागि नेपाल सरकारका मन्त्री, उच्च पदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिक नियोगका राजदूतहरूको समेत उपस्थित रहने बताइएको छ । मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन् ।
मेलामा उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने आदि नै यो मेलागर्नुको मुख्य उद्देश्य रहेको आयोजनको भनाई छ ।
नेपाली हस्तकलाका वस्तुहरु करिब रु.१२ अरब मूल्य बराबरको विश्वका ६० भन्दा वढि देशहरुमा निकासी भई रहेका छन् । सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई जम्मा रु.२४ अरबको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिंदै आएको छ ।
त्यसै गरी हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । देशको व्यापार घाटा कम गर्न र आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनिकरण गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको बिकास, बिस्तार र प्रबद्र्धनमा नेपाल सरकारले जोड दिनु पर्ने व्यवसायीको भनाई छ ।
मेलाका आकर्षण
एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री
१८औं हस्तकला प्रतियोगिता
मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन
परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी
अर्मूत साँस्कृतिक सम्पदाको उजागर
जेष्ठ वरिष्ठ कलाकारहरुलाई सम्मान
कला प्रदर्शनी २०८०
Virtual Exhibition
अग्रणी निर्यातकर्ताहरुलाई सम्मान