ब्रिटिस कलेजमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स
काठमाडौं। द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) शुरू गरेको छ ।
कलेजले एक कार्यक्रमको आयोजना गरी नयाँ पाठ्यक्रमको औपचारिक शुरुआत गरेको हो । ‘युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्यान्ड’ युकेसँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनीयरिङ काउन्सिल र ब्रिटिस कम्प्युटर सोसाइटीले पनि मान्यता दिएको बताइएको छ ।
फिनटेक अलायन्स नेपालको सहकार्यमा भएको उद्घाटन कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेनका साथै उद्योगीरव्यवसायी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले डिजिटल वालेटको भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्स महत्त्वपूर्ण रहेको बताए । उनले एआईले फिनटेकमा ठूला परिवर्तन ल्याउन सक्ने सम्भावनाबारे पनि जानकारी दिएका थिए ।
नेपालका लागि बेलायती राजदूत रोबले ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इंगल्यान्डबीचको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढवा दिने बताए ।
त्यस्तै, ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडनले विश्वभरका उद्योगहरूले एआई प्लेटर्फम अँगाल्न थालेको अवस्थामा यस पाठ्यक्रमले दक्ष जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्ने बताए ।