काठमाडौँ। नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा बिहिबार नेपालले अफगानिस्तानलाई १ विकेटले हराउदै सुपर सिक्समा स्थान पक्का गरेको हो ।
अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्यो ।
नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए । ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन् ।
अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए । ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए ।
नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।
नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो । नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए । यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए ।
टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।