Business NewsCorporate

अर्थतन्त्र चलायमान बनाउने मौद्रिक नीति ल्याउन सिएनआईको गभर्नरसंग आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको हो ।

छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताउनुभयो। पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउनुहँदै हाल तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पूँजी कर्जाका विभिन्न प्रावधानहरूका कारणले कर्जा लिन नसकेको बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताउनुभयो । लक्षित आर्थिक बृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तिमा १२ प्रतिशतले बृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमुलक क्षेत्रमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमुलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

सो अवसरमा गभर्नर अधिकारीले परिसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभयो । उहाँले परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको भन्नुहुँदै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताउनुभयो । मुल्यबृद्वि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाब तर्फ सजक भइरहनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उक्त भेटमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, राष्ट्रिय परिषद् सदस्यहरू अनलराज भट्टराई, प्राशी अग्रवाल सहभागी हुनुहुन्थ्यो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button