एमसीसी कार्यान्वयन प्रक्रियाको लागि नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड
काठमाडौँ । अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउनुहुने भएको छ । उहाँले अमेरिकी विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एसिया मामिला हेर्नुहुन्छ ।
भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी सरकारको सहयोग अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुँदा हुन लागेको भ्रमण सोही सेरोफेरोमा केन्द्रित हुने अनुमान गरिएको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार उहाँले अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारी सँग पनि छुट्टै छलफल गर्नुहुने छ । जसमा उहाँले सिप आदानप्रदानसँगै वैश्विक प्रतिस्पर्धाका लागि आवश्यक कार्यका विषयमा विमर्श गर्नुहुने छ ।
उहाँ यसअघि एमसिसी परियोजना संसद्बाट अनुमोदन हुनेताका नेपाल भ्रमणमा आउनुभएको थियो । मात्र एक दिनका लागि नेपाल भ्रमणमा आउन लाग्नुभएका लु लामो समयअघिदेखि नेपालसँग परिचित हुनुहुन्छ ।