अन्तर्राष्ट्रिय विमानस्थलबाट १० वर्षमा ४१ क्विन्टल सुन तस्करी
काठमाडौ । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक क्टिटल सुन बरामद गर्यो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो भन्ने प्रश्न उठेको छ ।
यस घटनाले विमानस्थलको सुरक्षा संवेदनशीलता र भन्सार प्रशासनमाथि पनि प्रश्न उठेको छ । तथापि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिणाममा सुन तस्करी भएको यो नौलो घटना भने होइन ।
विगत १० वर्षको अवधिमा ठुला तस्करीका घटनामा ४१ क्विन्टल १७ किलोभन्दा बढी सुन अवैध भित्रिएको छ । ठुलो परिमाणमा फेला भने परेको छैन ।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले २०७० साल असार २६ गते काठमाडौँको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो । चीनको खासाबाट भित्र्याइएको ३५ किलो सुन सिआइबीले बा ३ ख २५७० नम्बरको कन्टेनरमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा कोटेश्वरबाट बरामद गरेको थियो । सुनसँगै कन्टेनरका चालक निमा छिरिङ पक्राउ परे तर सुनका मालिक मोहन अग्रवाल, ओमबहादुर बज्राचार्य, घ्याम्पे लामा पक्राउ परे पनि उनीहरू जिल्ला अदालतको आदेशमा धरौटीमा छुटे ।
त्यस्तै २०७४ माघ ९ गते त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ केजी सुन फेला पर्न सकेन । तस्करीको सुन बाटोबाटै हराएपछि सुनका मुख्य भरिया चूडामणि उप्रेती ‘गोरे’ समूहको यातनाबाट मोरङका सनम शाक्यको हत्या भएपछि घटना बाहिरिएको थियो । आजको गोरखापत्रमा समाचार छ ।