निशुल्क आँखा उपचारको लागि स्ट्याण्डर्ड चाटर्ड बैंकले दियो १ करोड
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले ग्रामीण क्षेत्रमा आँखाको चेकजाँच तथा उपचारको पहुँच वृद्धिका लागि एक करोड नेपाली रुपैयाँ सहयोग गरेको छ ।
बैंकले सहयोगका रुपमा उपलब्ध गराएको उक्त रकम तिलगंगा आँखा प्रतिष्ठानले सञ्चालन गर्दै आएको नेपाल आइ (आँखा) प्रोग्राम र मित्र समाजले सञ्चालन गर्दै आएका निशुल्क आँखा उपचार शिविर सञ्चालनमा प्रयोग हुनेछ ।
बैंकले तिलगंगा आँखा प्रतिष्ठानलाई ४७ लाख ९० हजार ८६६ हजार सहयोग गरेको छ । सो रकमबाट प्रतिष्ठानले पर्सा जिल्लाको निचुता गाउँमा सामुदायिक आखाँ उपचार केन्द्र स्थापना गर्ने भएको छ । जसले त्यस क्षेत्रका मानिसहरुमा मोतीविन्दु, जलविन्दु लगायतका अन्धोपन गराउने सम्भावित कारणहरुको परीक्षणमा सहयोग पुग्नेछ । यस आयोजना मार्फत ७ हजार मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने आकलन गरिएको छ ।
यस्तै बैंकले मित्र समाजलाई ६७ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । सो रकम मित्र समाजले सञ्चालनमा ल्याएको मोतीविन्दु अन्धोपना उन्मूलन परियोजनामा प्रयोग हुनेछ । जसअन्तर्गत मित्र समाजले दुर्गम क्षेत्रमा अन्धोपना गराउने सम्भावित कारणहरुको पहिचान गरी, परामर्श तथा उपचार, मोतीविन्दु पहिचान, त्यसको उपचार लगायतका सेवा सु्विधाहरु प्रदान गर्दै आएको छ । यस सहयोगबाट ८ हजार मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
अन्धोपनाका सम्भावित कारणहरुको बारेमा समयमा पहिचान गर्न सकेमा अन्धोपना हुँदैन भन्ने विश्वासका साथ आँखा उपचारको पहुँच नभएको क्षेत्रमा मित्र समाज र तिलगंगा आखाँ संस्थानसँगको सहकार्यमा काम गर्न पाउँदा आफू खुशी रहेको र स्ट्याण्डर्ड चाटर्ड बैंकले आगामी दिनमा समेत समाजको हित हुने काम गर्ने कर्पोरेट अफेयर्स, ब्रान्ड तथा मार्केटिङ प्रमुख हर्ष पिल्लाईले बताए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले देशमा सुलभ, सस्तो र गुणस्तरीय आँखा हेरचाहको आफनो सहयोग महत्वपूर्ण हुने अपेक्षा लिएको छ ।