काठमाडौँ- ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको छ ।
ब्यूरो स्रोतका अनुसार पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।
विजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए । २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा हाल सञ्चार मन्त्रालयका सचिव कृष्ण राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।