काठमाडौं । बजारको माग अनुसार बदलिंदो समय एवं नवीनतम योजनाहरुलाई समेट्दै आएको एन आईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि तीन प्रकारका कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको कर्जा योजना जसमा अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा रहेका छन् ।ग्राहकहरुको आवश्यकतालाई हरसम्भव पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको जनाएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको अठोट घर कर्जा ग्राहकहरुले न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन् । यो योजना अन्तर्गत बैंकका ग्राहकहरुले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।
त्यसैगरी बैंकले व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध हुने जनाएको छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यो कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी यो कजर्न सुविधा ल्याइएको बैकको भनाई छ ।
बैंकले ल्याएको न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यो कर्जामा १ वर्षको भुक्तानी अवधि वार्षिक रुपमा नवीकरण गर्न सकिने रहेको छ ।