BrandingBusiness NewsPolitics

अब नेपालको विकासले लय पक्रिन्छ : अर्थमन्त्री डा. महत

जनकपुर । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताउनु भएको छ । नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘लोकतन्त्र स्थापनाका लागि यो प्रदेशले धेरै ठूलो संख्यामा ज्यान आहुति दिने शहिद जन्माएको छ ।’

यो प्रदेशबाट रामनारायण मिश्र, महेन्द्रनारायण निधि, सरोज कोइराला, शेख इद्रिसलगायतले नेपाली कांग्रेस पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । भन्नुभयो, ‘विद्यार्थी नेता कामेश्वर, कुशेश्वर, दुर्गानन्द झालगायतको पनि नेपाली कांग्रेस निर्माण र लोकतान्त्रिक आन्दोलनको उर्बर भूमि यो क्षेत्रलाई बनाउन महत्वपूर्ण भूमिका दिनुभएको थियो ।’

‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लै बहुमत ल्याउने परिस्थिति बनायौं भने, देशैभरि कांग्रेसले बहुमत ल्याउँछ’ उहाँले भन्नुभयो, ‘त्यसका लागि नेपाली कांग्रेस पार्टीभित्र एकताको आवश्यकता छ । आरोप–प्रत्यारोप होइन, संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्छ ।’

निर्णय एउटा हुन्छ, बाहिर अर्कै कुरा आउँछ । यस्तो भयो भने जनता दुविधामा पर्छन् । बैठकको निष्कर्षलाई सबैले स्वीकार गरौं भन्दै प्रवक्ता तथा अर्थमन्त्री डा। महतले भन्नुभयो, ‘ केन्द्रमा जसरी पार्टी सभापतिले सबैको कुरा सुनेर छलफलबाट निष्कर्ष निकाल्नु हुन्छ, त्यसरी नै कांग्रेसको हरेक तहमा संस्थागत निष्कर्ष निकाल्ने प्रवन्ध मिलाउँ, यसका लागि सहिष्णु बनौं । हरेक तहमा यस्तो प्रवन्ध मिलो भने नेपाली कांग्रेस बलियो हुन्छ, पार्टीमा एकता र सहिष्णुता विकसित हुन्छ । यदि यो भइदियो भने नेपाली कांग्रेस एक्लैले निर्वाचनमा बहुमत ल्याउन सक्छ ।’

‘उहाँले भन्नुभयो, ‘एक्लै गर्छु भनेर परिणाम निस्कँदैन, संगठन निर्माण गर्न, यो विशाल जनसभा, पार्टीका साथीहरुको उपस्थिति संगठन निर्माणमा रुपान्तरण भयो भने यो सम्मेलनको सफलता हुनेछ ।’

‘नेपाली कांग्रेसले मात्र नेपालको आर्थिक र सामाजिक रुपान्तरण गर्न सक्छ, लोकतन्त्रलाई संस्थागत गर्न सक्छ र संघीयतालाई घनिभूत गर्न सक्छ’ मन्त्री महतले भन्नुभयो, ‘अरुले सक्दैन । मधेशको नागरिकताको सवाल, समावेशी अधिकारको सुनिश्चिताको सवाल नेपाली कांग्रेसको कारणले प्राप्त भएको हो । पहिला हाम्रो पार्टीप्रति गर्व गर्न सिकौं ।’

हामी नै ठीक छैनौं, हाम्रै नेता ठीक छैन भन्ने कुरा गर्दै हिडियो भने हामीले जनताको विश्वास आर्जन गर्न नसक्ने उहाँले बताउनुभयो । भन्नुभयो, ‘हामीबीच मतान्तर होला, त्यो मतान्तर घरभित्रै छलफल गरौं ।’

‘०४६ सालपछि नै नेपाली कांग्रेसले विकासको आधार खडा गरेको हो । नेपाली कांग्रेसले विकासलाई निरन्तरता दिन्छ भन्ने विश्वासका साथ हामी जनताकाबीचमा जाऔं, त्यसपछि नेपाली कांग्रेसलाई एक्लै जित्ने पार्टी बन्न कसैले रोक्न सक्दैन’ उहाँले भन्नुभयो, ‘सबै पुस्ताको ऊर्जा र अनुभवलाई एकत्रित गरेर मात्रै यो पार्टी बलियो हुन्छ ।

‘अहिले अर्थतन्त्रले लय पक्रिँदैछ, सेयर बजार माथि उठेको छ, घरजग्गा कारोबार वृद्धि हुँदैछ, विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भइरहेको छ । अहिले पर्यटकको आगमन सबैभन्दा धेरै भएको छ’ उहाँले भन्नुभयो, ‘ऋण प्रवाह हुन थालेको छ, अब नेपालको विकासले लय पक्रिन्छ । एमाले अध्यक्ष ओलीको पालादेखि नै नेपालको अर्थतन्त्रमा ठूलो चाँङ थियो, यो समस्याको चाङ एक झड्कामा हुँदैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुले इमान्दारिताका साथ काम गरिरहेका छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button