नेपालका लागि हिरोको नयाँ बिक्रेतामा सीजी मोटर्स
काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल र स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्नो नयाँ आधिकारिक बिक्रेतामा चौधरी ग्रुपको सीजी मोटर्सलाई नियुक्त गरेको छ ।
सीजी मोटर्सले जारी गरेको विज्ञप्तिअनुसार हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमै एसेम्बल गर्न नवलपुरमा अत्याधुनिक प्लान्ट स्थापना गर्नेछन् । जसको क्षमता प्रतिवर्ष ७५ हजार युनिट रहेको छ । जुन आगामी मार्चदेखि सञ्चालनमा आउने छ ।
हिरो मोटोकर्पका ग्लोबल बिज्नेस प्रमुख सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँगको साझेदारीलाई लिएर आफूहरू उत्साहित बनेको बताउनुभयो । उहाँले नेपाल आफूहरूका लागि अत्यन्तै महत्त्वपूर्ण बजार रहेको पनि बताउनुभयो । नयाँ साझेदारको साथमा नेपाली बजारमा हिरोको उपस्थिति बलियो हुनेमा आफूहरूको विश्वस्त रहेको हिरो मोटोकर्पले जनाएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हिरो मोटोकर्पसँगको साझेदारीलाई लिएर आफूहरू रोमाञ्चित बनेको बताउनुभयो । विश्वस्तरका मोटरसाइकल र स्कुटर निर्माणका लागि अग्रस्थानमा रहेको कम्पनीसँगको साझेदारीबाट सीजी मोटर्स अटोमोबाइल बजारमा पुन प्रवेश गरेको उहाँको भनाइ छ ।