महालक्ष्मी विकास बैंकको सिईओमा दिपेश लम्साल नियुक्त
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा लम्साललाई नियुक्त गरिएको हो ।
यही माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको जनाइएको छ ।
बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात सञ्चालक समितिको निर्णय बमोजिम निमिक्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेर कार्यभार सम्हाल्दै आएका थिए ।
प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त लम्साललाई बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत गरिएको छ । कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न आफू सधैँ तत्पर रहने प्रतिवद्दता जनाएका छन् ।
उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सबै कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन् । विगत १५ वर्ष देखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसंग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिव २८ वर्षको बैकिङ अनुभव रहेको छ ।