Business NewsInfo-TechInsurance & Finance

अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहे पनि समस्यामुक्त भइनसकेको बताएका छन्।

मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन। समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ।’

मन्त्री महतले भने, ‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौं। यो कालखण्डमा हामीले विभिन्न राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौं।’

‘आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ, पूरा गरेका कुरा कम छ । यस अर्थ असन्तुष्टि आउनु स्वभाविक हो’ उनले थपे।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा रहेका बताए।

राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भएको, राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन नसके पनि यसमा प्रगति भएको उनले बताए। राजस्व संकलन गत वर्षभन्दा ० दशमलब ५२ प्रतिशत बढी उठाउन सक्ने देखिएको उनले जानकारी दिए।

कसिलो मौद्रिक नीति नेपाल राष्ट्र बैंकले अपनाउँदा अर्थतन्त्रमा मुद्रा प्रवाह नहुँदा ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन नसकेको र अर्थतन्त्र भने जति अघि बढ्न नसकेको उनले बताए।

‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन, गैरकर गत वर्षभन्दा ११ दशमलब ८८ प्रतिशत बढी उठेको छ’ उनले भने, ‘जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौं। यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौं।’

आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा महतले बताए। उनले भने, ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं।’

हाम्रो क्षमताभन्दा पनि बढी हामीले सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाइ थियो। पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौं। यसबाट हामी पछाडि फर्किन सक्दैनौं, डा। महतले भने, ‘अब निर्णय गर्दा विचार गर्नुपर्छ। तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं।

प्रशासनिक खर्च घटाउन लाग्ने मन्त्री डा.महतले बताए। उनले भने, ‘साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं। बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ। यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं। यसो भयो भने श्रोत र साधनको हाहाकार रहँदैन।’

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button