Auto

बैंकहरुले घटाए ब्याजदर, कुन बैंकमा कति ?

काठमाडौं । वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् ।

नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै असार महिनाको तुलनामा साउनमा केही बैंकले ब्याज बढाएका र केहीले घटाएका छन् ।

संघले ब्याजदरमा भएको भद्र सहमति हटाएपछि बैंकहरूले स्वतन्त्र रूपमा सोमबारदेखि लागू हुनेगरी ब्याजदर तोकेका हुन् । असारसम्म सबै वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा समान ९ दशमलव ९९ प्रतिशत ब्याज रहेकामा अब भने फरक फरक भएको छ ।

धेरैजसो वाणिज्य बैंकहरूले आइतबार सूचना जारी गर्दै मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । केही बैंकहरूले भने असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

मुद्दती निक्षेपतर्फ सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, कुमारी बैंक, कृषि विकास बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन् ।

अधिक ब्याजदर कायम गर्ने बैंकहरूमा क्रमशः एनएमबी, नबिल बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक रहेका छन् । त्यसैगरी हिमालयन, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले स्थिर राखेका छन् । सबैभन्दा कम ब्याजदर भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ ।

सरकारको स्वामित्वमा रहेको कृषि विकास बैंकले बचत खातामा न्यूनतम ५ दशमलव ४० प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागततर्फ ७ दशमलव ५१ प्रतिशत र व्यक्तिगततर्फ ९ दशमलव ५१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १० दशमलव ५१ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

यसैगरी, नेपाल बैंकले बचत खातामा न्यूनतम ४ दशमलव ८६ प्रतिशतदेखि अधिकतम ७ दशमलव ६६ प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागततर्फ ६ दशमलव ९९ प्रतिशत र व्यक्तिगततर्फ ८ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ अधिकतम ८ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ९९ प्रतिशत कायम गरेको सूचना प्रकाशित गरेको छ ।

पब्लिक कम्पनीका रूपमा रहेको सिद्धार्थ बैंकले व्यक्तिगततर्फ अधिकतम ९ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सानिमा बैंकले भने व्यक्तिगत ९ दशमलव ५२ प्रतिशत र संस्थागत ७ दशमलव ५२ प्रतिशत निर्धारण गरेको छ ।

कुमारी बैैंकले साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ दशमलव ५१ प्रतिशतदेखि १० दशमलव शून्य १ प्रतिशत नयाँ ब्याजदर प्रस्ताव गरेको छ ।

त्यस्तै, प्रभु बैंकले व्यक्तिगत निक्षेपमा ९दशमलव ५ प्रतिशत र संस्थागत ७ दशमलव ५ प्रतिशत कायम गरेको छ । नबिल, एनएमबी, नेपाल एसबीआई र हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकत ९ दशमलव ९९ प्रतिशत र संस्थागतमा ७ दशमलव ९९ प्रतिशत दिने यसअघिको व्यवस्थालाई नै निरन्तरता दिएका छन् ।

यद्यपि एनएमबी, प्राइम कमर्सियल, एनआईसी एसिया र नबिल बैंकले ब्याजदर बढाएको हो कि भन्ने देखिएको छ । प्राइम कमर्सियल बैंकले सबै अवधिको मुद्दती निक्षेपमा १० दशमलव ९३ प्रतिशत ब्याज दिने जनाएको छ । यो चालू असार महिनाको ब्याजदरभन्दा शून्य दशमलव ९३ प्रतिशतले बढी हो । आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको औसत आधारदर १० दशमलव ८४ प्रतिशत रहेको छ । बैंकले कर्जा लगानी यसै बेस रेटमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम चार्ज गर्ने जनाएको छ ।

नबिल बैंकले निक्षेपमा १० दशमलव ४९ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले न्यूनतम ८ दशमलव ४९ प्रतिशतदेखि अधिकतम १० दशमलव ४९ प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबी बैंकले भने १० वर्षमाथिको मुद्दती निक्षेपमा १० दशमलव ९८ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको छ । नबिल बैंकले पनि दुई वर्षभन्दा माथिको निक्षेपमा १० दशमलव ४९ प्रतिशत ब्याज दिने भएको छ ।

सबैभन्दा धेरै ब्याज घटाउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ । सो बैंकले ब्याजदर १० प्रतिशतबाट घटाएर ८ दशमलव ९५ प्रतिशत कायम गरेको छ ।

वाणिज्य बैंकहरूको नयाँ ब्याजदरमध्ये सबैभन्दा बढी एनएमबी बैंकको रहेको देखिएको छ । बैंकले बचत खातामा न्यूनतम ५ दशमलव ९८ प्रतिशतदेखि अधिकतम ८ दशमलव ९८ प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत र व्यक्तिगततर्फ ९ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १० दशमलव ९८ प्रतिशत ब्याजदर प्रदान गर्ने उल्लेख गरेको छ ।

हिमालयन बैंकले बचत खातामा न्यूनतम ५ दशमलव ४० प्रतिशतदेखि अधिकतम ७ दशमलव ४० प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत र व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर तोकेको राजधानीमा समाचार छ ।

ग्लोबल आईएमई बैंकले बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोक्नेछ । मुद्दती निक्षेपमा संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत, व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र रेमिट्यान्स खातामा भने ११ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेको छ ।

लक्ष्मी सनराइज बैंकले बचत खातामा न्यूनतम ५ दशमलव ४० प्रतिशतदेखि अधिकतम ७ दशमलव ४० प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत र व्यक्तिगततर्फ ९दशमलव ९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९ दशमलव ९९ र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button