गत वर्ष ३ सय २२ उद्योग दर्ता,दुई खर्ब १४ अर्ब लगानीको प्रस्ताव
काठमाडौँ । गत आर्थिक वर्ष २०७९–८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् ।
विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन् ।
गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी दुई खर्ब १४ अर्ब बराबर रहेको छ । ती उद्योगहरुबाट प्रस्तावित रोजगारीको सङ्ख्या २३ हजार तीन सय २४ रहेको विभागले जनाएको छ । दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना एक सय ८६ रहेका छन् ।
औद्योगिक व्यवसाय ऐन, २०७६ ले रू ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला, रू १५ करोड देखि रू ५० करोडसम्म मझौला र लघु तथा घरेलु उद्योगबाहेक रू १५ करोडसम्मको स्थिर पूँजी भएकालाई साना उद्योगका रुपमा वर्गीकरण गरेको छ ।
उद्योग विभागमा गत वर्ष पाँच प्याटेन्ट र १८ डिजाइन दर्ता भएका छन् । त्यस्तै गत आवमा दर्ता भएका ट्रेडमार्कको सङ्ख्या तीन हजार दुई सय ५४ रहेको छ । पछिल्लो एक वर्षको अवधिमा ट्रेडमार्कसम्बन्धी मुद्दामा एक सय ५० कम्पनीलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृति लिनेको सङ्ख्या ८२ छ ।
सोही अवधिमा चार सय चार उद्योगले निर्यातमा नगद अनुदान लिनका लागि विभागबाट मूल्य अभिवृद्धि प्रमाणित गराएका छन् भने भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र सिफारिस भएका ९८ छन् ।
गत आवमा उद्योग विभागबाट स्वीकृत भएका विदेशी लगानीको सङ्ख्या तीन सय २७ छन् । उक्त उद्योगबाट कूल र ३३ अर्ब १४ करोड बराबरको विदेशी लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।