गैरकानूनी सम्पत्ति आर्जन गरेकोआरोपमा सुनिल पौडेल र विकल पौडेल पक्राउ

काठमाडौं । नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचारको आरोप लागेका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।
प्रमाण नष्ट गर्न सक्ने र भाग्ने सम्भावना रहेकाले दुवैलाई बुधवार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । अख्तियारले उनीहरूविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेलसहित ९ जनाविरुद्ध गत असोजमा अख्तियारले मुद्दा दायर गरेको थियो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) अन्तर्गत खरीद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि अख्तियारले २३ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
यसैगरी गत वैशाखमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले विकलविरुद्ध ६९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी माग गरेको थियो ।