उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड बिरुद्ध बोले निजी क्षेत्र
काठमाडौ । निजी क्षेत्रले उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार नगर्न आग्रह गरेको छ।
नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कसमर्शले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने तथा थुनामा राख्ने जस्तो कार्य नगर्न आग्रह गरेको हो।
कानुन विपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ। तर आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुँदैन,संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्छ।अदालतले दोषी ठहर नगर्दै व्यवसायीलाई थुन्ने कार्यबाट निजी क्षेत्र त्रसित भएको छ उनीहरूले बताएका छन्।
कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनु पर्ने उनीहरूको माग छ।
आरोप लागेका व्यवसायीलाई अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्रले आग्रह गरेको छ।
देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको उद्योगीहरूको भनाइ छ।