
एनसेल शेयर खरिद-बिक्री प्रकरण रहस्यमय : सभामुख घिमिरे
काठमाडौ । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिद बिक्री प्रकरण रहस्यमय नै भएको भन्दै छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ ।
बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै सभामुख घिमिरले संसद्ले एनसेल खरिद बिक्री प्रकरणलाई जिम्मेवारीकासाथ चासो लिएर अघि बढाइरहेको बताउनुभयो ।
एनसेल प्रकरणमा जसरी अरुको चासो गइरहेको छ, संसद्मा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ । संसद् अहिले स्थगित छ तर संसदीय समितिहरु क्रियाशील रुपमा अघि बढिरहेको उहाँको भनाई छ ।
सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउन सुझाव समेत दिएका छन ।
अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्य तथ्य छानबिन गर्न ज्ञापन पत्रमा माग गरेको छ । खर्बौंको सम्पत्ति रहेको, नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौंको ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्वजानकारी नगराई बिक्री गर्नुले पुँजीगत लाभ कर लगायत कर छली गर्ने उद्देश्य राखेको देखिएको अनेरास्ववियुको ठहर छ ।