Politics

नेपाल र भारतीय अर्थमन्त्रीबीच भेटवार्ता,लगानी सहजीकरणमा मिलेर काम गर्नेमा जोड

गुजरात । भारतको गुजरातमा भइरहेको जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारामणबीच द्विपक्षीय साइडलाइन बैठक सम्पन्न भएको छ।

बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ। नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएका छन्।

छलफलमा अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्पन्न विद्युत निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे। दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणका लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो।

भारतीय अर्थमन्त्री सीतारमणले भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेड र नेपालको एनसीएचएलबीच भएको समझदारीबमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरिन्।

अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताए। नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीका लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउनसमेत मन्त्री महतले अनुरोध गरे।

जी–२० सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर दिनुका साथै यो मञ्चमा नेपाललगायत कम आय भएका देशको सरोकारका विषयहरु राख्न अवसर दिएकोमा धन्यवाद दिँदै मन्त्री महतले जी–२०को गतिशील एवं सबल नेतृत्व लिएकोमा भारतलाई बधाइ दिए।

आपसी हितका आर्थिक क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानुपर्नेमा दुवै देशका अर्थमन्त्रीले जोड दिएका थिए।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button