Politics

रेडी ट्रेडले दुई महिनामा ल्याएको थियो १९ सय ९७ किलो सामान, मुख्य योजनाकार को ?

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर पठाइएका आठ पोका सामानभित्र तस्करीको करिब एक क्विन्टल सुन बरामद हुनुअगावै गिरोहले त्योभन्दा बढी परिमाणको सुन उम्काएको हुन सक्ने देखिएको छ ।

सुन काण्डमा मुछिएको रेडी ट्रेडले पछिल्लो दुई महिनामा १ हजार ९ सय ९७ किलो सामान ल्याएको पुष्टि भएको छ ।

नेपाल, भारत र हङकङमा व्यावसायिक आवरणमा तस्करी धन्दा चलाएको गिरोहले मे, जुन र जुलाईमा पटक–पटक गरी ३ हजार ८ सय ८१ थान सामान ल्याएको भन्सारको अभिलेखबाट देखिएको छ ।

रेडी ट्रेडले २ हजार ७ सय थान सेभर दाह्री काट्ने, एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक सु भित्र्याएको हो । ती सामान जाँचपासबाटै बाहिर निकालिएका थिए । यसअघि सामान उम्काउन सफल भएकाले त्यसकै निरन्तरताका रूपमा पछिल्लो पटक एक क्विन्टल सुन आएको अनुसन्धानकर्मीको भनाइ छ ।

सुन तस्करीको संयोजन गर्न चीन, नेपाल र भारतीय गिरोह संगठित रूपमा लागेको अनुसन्धानबाट देखिएको छ । तर, अहिलेसम्म सहयोगीहरू मात्र पक्राउ परेका छन् । अनुसन्धानकर्मीहरू मुख्य योजनाकारसम्म पुगेका छैनन् । अनुसन्धानकर्मीले भने ठेकेदारको नजिक पुगेको बताएको कान्तिपुरमा समाचार छ ।

निगरानीमा परेका व्यापारी पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखाउँछ । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिन्छ । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको खुलेको छ । तर अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै अधिकारीहरूले नाम पुष्टि गर्न चाहेनन् ।

ब्रेक सुको आवरणमा जाँचपास गर्ने विमानस्थलका भन्सार अधिकृतसहित तीन जना निलम्बनमा परेका छन् । भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल, त्यसपछि हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट पक्राउ परिसकेका छन् ।

यसअघि रेडी ट्रेडलगायत फर्मका नाममा आएका मालवस्तुको भन्सार रेकर्ड पनि अनुसन्धानकै क्रममा रहेको एक अधिकारीले बताए । यता क्विन्टल सुन तस्करीसम्बन्धी अनुसन्धान गरिरहेको विभागले तीन जना अधिकृत सम्मिलित छुट्टै विशेष संयन्त्रमार्फत छानबिन थालेको छ । राजस्व अनुसन्धानमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि यो अनुसन्धानमा संलग्न गराइएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button